Tuesday, January 9, 2007

क्याम्पसमा हजुरआमा

उमेरले डाँडा काटेर के भो ? खाने मुखलाई जुँगाले छेक्दैन भनेझैँ बुढेसकालमा क्याम्पस भर्ना भएकी छन्, कृष्णकुमारी ओझा, ६१ । सहपाठीदेखि पढाउने गुरुहरूले समेत उनलाई हजुरआमा नै भनेर सम्बोधन गर्छन् । सदरमुकाम भोजपुरदेखि छ कोस पूर्व याकु गाविस-९ की ओझाले यसैपालि एसएलसी पास गरेपछि क्याम्पस पढ्न पाएकी हुन् ।
मानविकीतर्फ आईए प्रथम वर्षको 'ए' सेक्सनमा पढ्छिन् उनी । हातमा किताब-कापी च्यापेर क्याम्पसकै पोशाकमा सजिएकी ओझा भन्छिन्, "उमेरमा जस्तो त नहुँदोरहेछ, तैपनि क्याम्पस पढ्न मज्जा नै लागिरहेको छ ।" पटक-पटकको असफलतापछि उनले ०६२ मा प्रवेशिका परीक्षा उत्तीर्ण गरेकी हुन् । "असफलता भन्ने कतै छैन," भन्छिन्, "निरन्तरता नै सफलता हो ।" क्याम्पसमा सबैका लागि उदाहरणीय बनेकी छन् हजुरआमा । त्यसैले उनलाई निःशुल्क अध्ययनको व्यवस्था मिलाइएको छ ।
१३ वर्षको उमेरमा गोविन्दप्रसाद ओझासँग कृष्णकुमारीको लगनगाँठो गाँसिएको थियो । श्रीमान्ले कान्छी श्रीमती भित्र्याएपछि उनमा विद्यालय जाने रहर पलाएको हो । "कान्छी मेरी सौता होइन, लक्ष्मी हुन्," भन्छिन्, "उनले गर्दा मैले पढ्न पाएँ । जागीरका लागि होइन, ज्ञानका निम्ति क्याम्पस भर्ना भएकी हुँ । " उनका जेठा छोरा कृष्णप्रसाद क्याम्पसमा पढाउँछन् । आधा जीवन बिताइसकेपछि बल्ल कक्षा १ मा भर्ना भएकी ओझाले स्थानीय विश्वप्रेमी माविबाट नातिनीसँगै प्रवेशिका परीक्षा दिएकी थिइन् । पटक-पटकको प्रयासपछि बल्ल उनले फलामे ढोका तोडिन् ।
पाको उमेरमा क्याम्पस भर्ना भएर उदाहरणीय बनेकाले स् वतन्त्र विद्यार्थी युनियनले उनलाई अभिनन्दनसमेत गरेको छ । स्ववियु सभापति धु्रवराज राईले भने, "वृद्धा ओझालाई जति अभिनन्दन गरे पनि कमै हुन्छ । " भोजपुर बहुमुखी क्याम्पसको इतिहासमा यसअघि यति पाको उमेरका कोही पनि क्याम्पस भर्ना भएका थिएनन् - शाहीमान राई/भोजपुर


साभार - Kathmandu, Sunday, 6 Jan, 2007 (पौष २३ २०६३)

No comments: